Thursday, July 14, 2022

सार्वजनिक खरिदको निर्माण कार्य खरिदमा बोलपत्र क्षमता (Bid Capacity)को कार्यान्यन

 १.    पृष्ठभूमिः

सरकारले गर्ने विकास कार्यमा हुने खर्चको ठूलो हिस्सा सार्वजनिक निर्माणमा हुन्छ र अधिकांश सार्वजनिक निर्माण सम्बन्धी कार्य निर्माण व्यवसायीहरूबाट हुने गरेको छ। सरकारले निर्माण व्यवसायी मार्फत गराउने सम्पूर्ण कार्य सार्वजनिक खरिद अन्तरगतको निर्माण कार्य खरिद बमोजिम हुन्छ। सार्वजनिक खरिदलाई व्यवस्थित गर्नको लागि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ कार्यान्वयनमा रहेको छ। सार्वजनिक निर्माण कार्यमा सक्षम निर्माण व्यवसायी छनौट गर्न सकेमा प्रभावकारी कार्यसम्पादनको जोखिम कम भएर जान्छ भने अन्यथा कार्यसम्पादन जोखिम बढेर जान्छ। त्यसैले निर्माण कार्य खरिदको प्रकृयामा एक सक्षम निर्माण व्यवसायी छनौट कार्य प्रभावकारी कार्यसम्पादनको लागि प्रारम्भिक सर्त हो। सार्वजनिक खरिदको प्रमुख विधि बोलपत्र मार्फत खरिद गर्ने विधि हो र बोलपत्र प्रकृयाबाट एक सक्षम निर्माण व्यवसायी छनौट गर्नको लागि बोलपत्रदाताका विभिन्न योग्यताहरू निर्धारण गर्ने गरिन्छ। न्यून रुपमा योग्यता निर्धारण गरिएको अवस्थामा असक्षम बोलपत्रदाता छनौट हुन सक्ने र अधिक योग्यता निर्धारण गर्दा प्रतिस्पर्धा न्यून हुने वा बोलपत्र नै पेश नहुने सम्भावना रहन्छ। त्यसैले पनि बोलपत्र प्रक्रियामा बोलपत्रदाताको योग्यता निर्धारण एक महत्वपूर्ण कार्य हो।

बोलपत्र मार्फत निर्माण व्यवसायीको छनौट गर्दा बोलपत्रदाताको वित्तीय अवस्था, कार्य अनुभव, प्राविधिक क्षमता, व्यवस्थापकीय पक्ष आदी जस्ता विषलाई बोलपत्रदाताको योग्यताको रुपमा लिइएको हुन्छ। व्यवस्थापकीय, वित्तीय, प्राविधिक आदी कारणले निर्माण व्यवसायीको काम गर्न सक्ने क्षमता सीमित रहेको हुन्छ। निर्माण व्यवसायीलाई निजको क्षमता भन्दा बढी काम प्रदान गरिएको अवस्थामा पक्कै पनि त्यो काम प्रभावकारी रुपमा कार्यसम्पादन हुन सक्दैन। बोलपत्र क्षमता (Bid Capacity) बोलपत्रदातालाई निजको क्षमता अनुसारको मात्र काम प्रदान होस् भन्नका लागि विश्वव्यापी रुपमा प्रयोग गरिने एक योग्यताको आधार हो।   

२.    बोलपत्र क्षमता (Bid Capacity):

बोलपत्र प्रकृयामा बोलपत्रदाताको योग्यता निर्धारण गर्दा विभिन्न आयामबाट योग्यता निर्धारण गरिएको हुन्छ। त्यस्तै योग्यता मध्येको एक योग्यता बोलपत्र क्षमता पनि हो। यसलाई देश अनुसार Bidding CapacityTender Capacity पनि भन्ने प्रचलन छ। बोलपत्रदाताको काम गर्न सक्ने क्षमता सीमित हुने हुँदा यो योग्यता बोलपत्रदाताको काम गर्न सक्ने क्षमता मौजुदा रहेको अवस्थामा मात्र निजलाई कामको जिम्मा दिने भन्ने सिद्धान्तमा आधारित रहेको छ। बोलपत्र क्षमतालाई कार्यान्यन गर्दा बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको लागि आवश्यक पर्ने न्यूनतम बोलपत्र क्षमता तोकिएको हुन्छ र बोलपत्र मूल्यांकन गर्दा बोलपत्र क्षमता बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको भन्दा कम क्षमता भएका बोलपत्रदातालाई बोलपत्र मूल्याङ्कनबाट हटाइन्छ।

Bhutan

Bid Capacity = (2 * A * N) – B

       A= Average turnover of the contractor over the last 3 calendar years.

       N= Estimated duration of the project being tendered in years.

       B= Portion of other ongoing works to be completed in the period that overlaps with the current project’s duration (that is, N)

       However, Bhutan uses scoring system to qualify the technical Bid (pass mark 65%) and Bid Capacity is one of the scoring criteria (10% weightage in technical evaluation).

 

INDIA

Bid Capacity = (2 * A * N) – B

Where,

        A = Maximum value of Civil Engineering work s executed in any one year during the last five years (Updated to the current price level) which will take into account the completed and ongoing works.

        N = Number of years prescribed for completion of the work for which bids are invited. (e. g., 24 Months = 2 Yrs.)

        B = Value of the existing commitments and works (ongoing) to be completed in the period stipulated of the completion of the work in the present tender.

 

बोलपत्र क्षमतालाई आर्थिक क्षमता र प्राविधिक क्षमता गरी सामान्यतया दुई किसिमले हेर्नै गरिन्छ। आर्थिक क्षमतामा साधारणतया बार्षिक कारोवार रकम, कार्यसञ्चालन पूँजी, वित्तीय श्रोत माथिको पहुँच आदी जस्ता विषहरूलाई आधार बनाइन्छ भने प्राविधि क्षमतामा व्यवस्थापकीय क्षमता, जनशक्ति, मेसिन औजार आदि जस्ता विषयलाई आधार बनाइन्छ। बोलपत्र क्षमता गणना गर्दा फरक फरक देशमा फरक फरक पद्दति अवलम्बन गरेको पाइन्छ। तथापि आर्थिक क्षमतामा वित्तीय श्रोत माथिको पहुँच, बार्षिक कारोवार, सम्पन्न गर्न बाँकी काम जस्ता विषयहरूलाई आधार लिने प्रचलन छ भने प्राविधिक क्षमतामा जनशक्ति र मेसिन औजार लाई आधार लिने प्रचलन रहेको छ।

वित्तीय श्रोत माथिको पहुँच, कार्यसञ्चालन पूँजी, जनशक्ति र मेसिन औजार जस्ता योग्यताको आधार बोलपत्र मार्फत हुने सबैजसो खरिदमा राखिने आधारभूत विषहरू हुन। यस लेखामा ती विषहरू भन्दा फरक बार्षिक कारोवार रकमको आधारमा निजले बार्षिक रुपमा गर्न सक्ने कामको परिमाण निकाल्ने र त्यसबाट सम्पन्न गर्न बाँकी रहेको काम घटाएर निजको थप काम गर्न सक्ने क्षमता गणना गर्ने पद्दतिको विषयमा चर्चा गर्न खोजिएको छ। यस हिसाबको बोलपत्र क्षमता गणना गर्ने प्रयोजनको लागि बढी प्रयोग हुने फर्मुला भनेको Bidding Capacity = [A x N x M]-B हो। जसमा A ले बार्षिक कारोवार रकम, N ले निर्माण सम्पन्न गर्नुपर्ने अवधि (खरिद हुन लागेको निर्माण कार्यको), M ले निश्चित गुणांक र B ले सम्पन्न हुन बाँकी कामको रकमलाई जनाउँछ। बार्षिक कारोवार रकम गणना गर्दा फरक फरक किसिमले गणना गर्ने गरिन्छ। कुनै देशमा विगत ५ वा १० बर्षको बार्षिक कारोवार रकमको ‍औषत रकम लिइन्छ भने कुनै देशमा विगत ५ वा १० बर्षको बार्षिक कारोवार मध्ये ठूलो तीन बर्षको औषत कारोवार रकमलाई लिइन्छ। कुनै देशमा विगत विगत ५ वा १० बर्षको बार्षिक कारोवार मध्ये सबैभन्दा धेरै कारोवार भएको कारोवार रकमलाई लिइन्छ। त्यस्तै M पनि देश अनुसार फरक फरक हुन सक्छ। यो सामान्यतया १.५ देखी २ सम्म हुने गरेको पाइन्छ। नेपालको सन्दर्भमा भने M हाल ५ रहेको छ।

३.   

Asian Development Bank

September 2010

        [(5 to 7) x Working Capital + lines of credit] – 40% (current contract commitments) > Bid Price.

Now

The Bidder must demonstrate that its financial resources defined in FIN - 3, less its financial obligations for its current contract commitments defined in FIN - 4, meet or exceed the total requirement for the Subject Contract of …………… Availability of financial resources usually comprises of Working Capital supplemented by credit line statements or overdraft facilities and others.

बोलपत्र क्षमता (Bid Capacity) कार्यान्वयनका फाइदाः

निर्धारण गरिएको समयमा निर्माण कार्य सम्पन्न नहुने विषय नेपालको खरिद व्यवस्थापनको सबैभन्दा ठूलो रोग हो र निर्माण व्यवसायीले आफ्नो क्षमता भन्दा बढी काम लिनु यसको प्रमुख कारण हो। यसका साथै निर्माण व्यवसायमा योग्यता पुर्‍याउनको लागि मात्र संयुक्त उपक्रम बनाउने, कमिसन खाएर काम अरुलाई जिम्मा लगाउने, काममा ढिलासुस्ती गर्ने आदि जस्ता समस्याहरू नेपालको सार्वजनिक निर्माणमा देखिएका प्रमुख समस्याहरू हुन। यदी बोलपत्रदाताको बोलपत्र क्षमता गणना गरी निजको क्षमताले खाम्ने सम्मको काम मात्र निजलाई प्रदान गर्न सकेको अवस्थामा निर्माण व्यवसायीको कार्यसम्पादन स्तरमा सुधार आउने सम्भावना रहन्छ। बोलपत्र क्षमताको प्रभावकारी कार्यान्यन भएमा पक्कै पनि सार्वजनिक निर्माणको क्षेत्रमा देखिएका केही प्रमुख समस्याहरूलाई सुल्झाउन मद्दत गर्नेछ। बोलपत्र क्षमतालाई बोलपत्रदाताको योग्यताको आधार तय गरी बोलपत्र आह्वान गर्ने एक प्रभावकारी प्रणालीको विकास गर्न सकेमा देहाय बमोजिमका फाइदाहरू प्राप्त गर्न सकिन्छ।

क)   निर्धारित समयमा कार्य सम्पन्न गर्न दवाव हुनेः खरिद सम्झौता बमोजिम काम समयमा सम्पन्न नहुनु नेपालको विकास निर्माणको एक प्रमुख समस्या हो। बोलपत्र क्षमता लागु भएको अवस्थामा निर्माण व्यवसायीले असिमित ठेक्का प्राप्त गर्ने अबस्था रहँदैन। निर्माण व्यवसायीले उसको क्षमता अनुसार मात्र ठेक्का प्राप्त गर्न सक्छ। नयाँ ठेक्का प्राप्त गर्नको लगि पनि पुरानो ठेक्काको काम सम्पन्न गर्न आवश्यक हुन्छ। त्यसबाट पक्कै पनि समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई दवाव पर्न जाने देखिन्छ।

ख)   कमिसन खाएर काम अरुलाई जिम्मा लगाउने प्रवृतिको अन्त हुनेः हाम्रोमा देखिएको अर्को विकृति भनेको बोलपत्रमा छनौट पश्चात निश्चित रकम कमिसन लिएर स्थानिय निर्माण व्यवसायीलाई कामको जिम्मा लगाए हिड्ने प्रवृति हो। यस किसिमको प्रवृत्तिले देश भरिका ठेक्काहरु ग्रसित रहेका छन्। बोलपत्र क्षमताको प्रभावकारी कार्यान्यन भएको अवस्थामा यस किसिमको विकृतिमा कमि आउने अपेक्षा गर्न सकिन्छ। आफूले काम नगर्ने तर ठेक्का लिएर कमिसन खाएर काम अन्य व्यक्तिलाई जिम्मा दिँदा निर्माण व्यवसायीको बोलपत्र क्षमता सीमित हुन जान्छ। एक व्यवसायिक निर्माण व्यवसायीले आफूले गर्न पाउने सीमित काम आफै नगरेर अन्य लाई प्रदान गर्दैन भन्ने अपेक्षा गर्न सकिन्छ।   

ग)    योग्यता पुर्‍याउनको लागि मात्र संयुक्त उपक्रम बनाउने कार्यको अन्त हुनेः कुनै काम सम्पन्न गर्न एउटा मात्र निर्माण व्यवसायीको क्षमता/योग्यता पुग्दैन वा उक्त निर्माण कार्यमा फरक फरक क्षेत्रको अनुभव भएका निर्माण व्यवसायीको आवश्यकता हुने अवस्थामा दुई वा सो भन्दा बढी निर्माण व्यवसायीहरू जोडिएर संयुक्त उपक्रम बनाई बोलपत्रमा सहभागी हुनु संयुक्त उपक्रमको सैद्धान्तिक अवधारणा हो। तर हाम्रोमा उक्त सैद्धान्तिक आधारमा भन्दा पनि योग्यता सापटी लिएर ठेक्का हात पार्ने उद्देश्यले संयुक्त उपक्रम बनाउने प्रचलन बढी छ। बोलपत्रमा माग गरिएको योग्यता पुर्याउन जुन निर्माण व्यवसायीसँग संयुक्त उपक्रम बनाउनुपर्ने हो उक्त निर्माण व्यवसायीलाई निश्चित रकम कमिसन दिएर निजसँग संयुक्त उपक्रम बनाई ठेक्का हाता पार्ने र काम भने आफै गर्ने प्रचलन आम रुपमा रहेको छ। यस किसिमको प्रवृत्तिबाट क्षमता नभएको निर्माण व्यवसायीको हातमा कामको जिम्मा पुगेको र त्यसको असर प्रत्यक्षतः कार्यसम्पादनमा देखिएको छ। बोलपत्र क्षमतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सकेको अवस्थामा यस किसिमको प्रवृतिलाई निरुत्साहित गर्न सकिन्छ। संयुक्त उपक्रम बनाउने वित्तिकै आफनो बोलपत्र क्षमता कम हुने हुँदा निर्माण व्यवसायीले प्राप्त गर्ने ठेक्का सीमित हुने हुँदा योग्यता पुर्‍याउनको लागि मात्र कसैसँग संयुक्त उपक्रम बनाउने भन्ने अवस्था रहँदैन। यसबाट प्रत्यक्ष रुपमा काममा सहभागी हुने निर्माण व्यवसायीहरूको वीचमा मात्र संयुक्त उपक्रम बन्ने र क्षमता नभएका निर्माण व्यवसायीको हातमा ठेक्का जाने सम्भावना कम भएर जान्छ।

घ)    अस्वस्थ प्रतिस्पर्धामा कमी आउनेः समयमा काम सम्पन्न नगर्दा पनि हुने हुँदा जति घटेर पनि जुन पायो त्यही ठेक्का लिने प्रवृति रहेको छ। अस्वस्थ किसिमको प्रतिस्पर्धाले कार्यसम्पादन जोखिम बढाउँछ। बोलपत्र क्षमता सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्यन भएमा आफ्नो क्षमता अनुसारको मात्र ठेक्का प्राप्त गर्ने र जिम्मामा रहेको काम सम्पन्न नहुँदासम्म थप काम प्राप्त नहुने हुँदा बोलपत्र पेश गर्दा नै बोलपत्रदाताले आवश्यक सजगता अपनाउँछन् भन्ने अनुमान गर्न सकिन्छ। यसबाट निर्माण व्यवसायीमा अस्वस्थ प्रतिस्पर्धा गरेर जसरी पनि बोलपत्र हाता पार्ने प्रवृत्तिमा कमी आउने देखिन्छ। 

ङ)    समयावधि थप सम्बन्धमा देखिएका समस्याहरू समाधान हुनेः सार्वजनिक खरिदको अर्को समस्या भनेको खरिद सम्झौताको समयावधि थप पनि हो। सार्वजनिक खरिद नियमावलीको पछिल्ला सात वटा संशोधनका धेरै संशोधनहरू समयावधि थपसँग पनि सम्बन्धित छन्। बोलपत्र क्षमताको प्रभावकारी कार्यान्वयनबाट काम समयमा सम्पन्न गर्न दवाव पर्न जाने र त्यसको असर प्रत्यक्षतः  खरिद सम्झौताको समयावधि थप सम्बन्धी विषयमा पर्न जान्छ। यसबाट निर्माण व्यवसायी समयावधि थप गर्न प्रयत्न गर्ने भन्दा काम सम्पन्न गर्न प्रयत्न गर्न थाल्छ। 

४.    नेपालमा कार्यान्यनको अवस्थाः

बोलपत्रदाताको वित्तीय श्रोत माथिको पहुँच सम्बन्धी आर्थिक क्षमताको विषयमा खरिद कानूनमा पहिले देखी नै व्यवस्था भई र कार्यान्वयनमा रहेको थियो। सार्वजनिक खरिद ऐनको पहिलो संशोधनबाट बोलपत्रदाताको प्रयोगमा रहेको आर्थिक र प्राविधिक क्षमता त्यस्तो निकायलाई आवश्यक पर्ने हदसम्म त्यस्तो बोलपत्रदाताको प्राविधिक क्षमता थप कार्यका लागि गणना नहुने भन्ने व्यवस्था कार्यान्वयनमा आयो। तर कतै पनि आर्थिक क्षमता भित्र के के विषय पर्छन् र प्राविधिक क्षमता भित्र के के विषय पर्छन् भन्ने विषय खरिद कानूनमा गरिएन। पछि खरिद नियमावलीको आठौं संशोधनबाट उक्त व्यवस्थालाई कार्यरुप दिन शुरु गरियो। नियमावलीको आठौं संशोधनमा बोलपत्रदाताले आफूले गरेको अधिकतम कारोबार भएका कुनै तीन आर्थिक वर्षको निर्माण कार्यको वार्षिक कारोबार रकमको औषत वार्षिक कारोवार (टर्न ओभर) रकमको बढीमा सात गुणाले हुन आउने रकम सम्मको मात्र बोलपत्र लिन सक्ने कुरालाई बोलपत्र योग्यता र मूल्यांकनको आधारको रुपमा लिनु पर्नेछ।भन्ने व्यवस्था थप गरियो। उक्त व्यवस्था थप गर्दा खरिद नियमावलीमा बोलपत्र क्षमता सम्बन्धी प्रावधान नियमावलीको नियम २६ मा बोलपत्रदाताको योग्यता सम्बन्धी नियममा उल्लेख राख्नुपर्नेमा नियम ६५ को निर्माण कार्यको बोलपत्रको बिशेष मूल्यांकनमा राखिएको छ जुन मिलेको देखिदैन। बोलपत्र क्षमता सम्बन्धमा खरिद कानून र नमुना बोलपत्र सम्बन्धी कागजातमा भएका व्यवस्थाहरू निम्नानुसार रहेका छन।

क)   सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा भएका व्यवस्थाहरुः

ऐनको दफा १३ को २ मा सार्वजनिक निकायमा प्रयोगमा रहेको बोलपत्रदाताको प्राविधिक क्षमता त्यस्तो निकायलाई आवश्यक पर्ने हदसम्म त्यस्तो बोलपत्रदाताको प्राविधिक क्षमता थप कार्यका लागि गणना नहुने उल्लेख भएको,

·       नियमावलीको नियम ६५ को (४क) मा बोलपत्र मूल्यांकन  गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम कुनै सार्वजनिक निकाय वा आयोजनामा प्रयोगमा रहेको बोलपत्रदाताको आर्थिक तथा प्राविधिक क्षमता त्यस्तो निकाय वा आयोजनालाई आवश्यक पर्ने हदसम्म त्यस्तो बोलपत्रदाताको आर्थिक तथा प्राविधिक क्षमता थप कार्यको लागि गणना हुने छैन। उल्लेख भएको।

·       नियमावलीको नियम ६५ को (४ख) मा कुनै सार्वजनिक निकाय वा आयोजनामा प्रयोगमा रहेको बोलपत्रदाताको आर्थिक तथा प्राविधिक क्षमता मध्ये त्यस्तो सार्वजनिक निकाय वा आयोजनालाई आवश्यक पर्ने हदसम्मको विवरण सो निकाय वा आयोजनाबाट लिई बोलपत्रदाताले बोलपत्र सम्बन्धी कागजात साथ पेश गर्नु पर्नेछ। उल्लेख भएको

·       नियमावलीको नियम ६५ को (४ग) मा बोलपत्रदाताले आफूले गरेको अधिकतम कारोबार भएका कुनै तीन आर्थिक वर्षको निर्माण कार्यको वार्षिक कारोबार रकमको औषत वार्षिक कारोवार (टर्न ओभर) रकमको बढीमा सात गुणाले हुन आउने रकम सम्मको मात्र बोलपत्र लिन सक्ने कुरालाई बोलपत्र योग्यता र मूल्यांकनको आधारको रुपमा लिनु पर्नेछ। यसरी तीन आर्थिक वर्षको बार्षिक कारोवार गणना गर्दा तत्काल अघिको दश आर्थिक वर्ष भित्रबाट गणना गर्नु पर्नेछ।उल्लेख भएको।

·       नियमावलीको नियम ६५ को (४घ) मा वार्षिक कारोवार रकमको पाँच गुणाले हुन आउने रकम गणना गर्दा बोलपत्रदाताको चालु ठेक्काको लागि वार्षिक दायित्व रकम घटाएर मात्र यकिन गर्नु पर्नेछ।उल्लेख भएको।

·       नियमावलीको नियम ६५ को (४ङ) मा बोलपत्रदाताले आर्थिक तथा प्राविधिक क्षमता सम्बन्धमा स्वयं घोषणा गरी बोलपत्र सम्बन्धी कागजात साथ विवरण पेश गर्नु पर्नेछ। यसरी पेश भएको विवरण झुठ्ठा ठहरेमा निजले पेश गरेको बोलपत्रलाई मूल्यांकन प्रकृयाबाट हटाई प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।उल्लेख भएको।

ख)    बोलपत्र सम्बन्धी कागजातमा भएको व्यवस्थाः नमुना बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको क्षमता गणना गर्ने प्रकृया र फर्मुला उल्लेख गरिएको छ।

Criteria

Compliance Requirements

Documents

Requirement

Single

Entity

Joint Venture

Submission
Requirements

All Partners

Combined

Each

Partner

One

Partner

2.3.3Required Bid Capacity

The bidding capacity of the bidder should be equal to or more than the NRs...(2a)……

must meet requirement

must meet requirement

must meet ……(3a)……

of the requirement

must meet ……(4a)……

of the requirement

Form FIN -3,4

 

Note:

(2a) Equal to Engineer’s Estimate (without VAT and Contingencies but including Provision Sum)in round figure

(3a)   Usually not less than 25 %

(4a)   Usually not less than 40 %

 

Bid Capacity = [(5 x A) – B]

A = Average Annual Turnover of best three years out of last ten fiscal years.

B = Annual Value of the existing commitments and works (ongoing) to be completed,

५.    कार्यान्वयनमा देखिएका समस्याः

कानूनमा उल्लेख भएका विषयलाई सोही गतिमा रहेर कार्यान्यन गर्न सकेको अवस्थामा मात्र त्यसले नतिजा प्रदान गर्दछ। खरिद कानून र नमुना बोलपत्र सम्बन्धी कागजातमा बोलपत्र क्षमता सम्बन्धमा गरिएका व्यवस्थाको हाल सम्मको कार्यान्यनको अवस्था हेर्दा यसको कार्यान्यन सन्तोष मान्न सकिने अवस्था छैन। बोलपत्र क्षमता सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा देखिएका मुख्य समस्याहरू निम्नानुसार रहेका छन्।

क)   कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्यन नहुनुः बोलपत्र क्षमता सम्बन्धी योग्यता सम्बन्धी व्यवस्थालाई निर्माण कार्य खरिदमा देखिएका समस्या र विकृतिलाई न्यूनिकरण गर्ने एक पद्दतिको रुपमा अवलम्बन गरी कानूनमा व्यवस्था गरिएको हो तर यसको मनसाय बमोजिम कार्यान्यन नहुँदा यसले कुनै नतिजा दिन सकेन। यो केवल थप एक योग्यताको आधारको रुपमा मात्र रह्यो। खासगरी बोलपत्रदाताले सम्पन्न गर्न बाँकी कामको विवरण स्वयं बोलपत्रदाताले घोषणा गर्ने व्यवस्था गरिएको तर बोलपत्रदाताले सही विवरण सही रुपमा उल्लेख नगर्दा यसको कार्यान्यन फितलो हुन पुग्यो। कानूनमा गलत विवरण दिएको अवस्थामा कारवाहीको समेत व्यवस्था भएता पनि त्यसको कार्यान्यन हुन सकेन।  

ख)   बाँकी रहेको कामको विवरणको सही तथ्यांक पेश नहुनुः बोलपत्रदाताले सम्पन्न गर्न बाँकी कामको विवरण स्वयंले उल्लेख गर्नुपर्ने व्यवस्था बोलपत्र सम्बन्धी कागजातमा गरिएको तर बोलपत्रदाताले सही विवरण प्रदान नगर्दा त्यसको कार्यान्यन प्रभावकारी हुन सकेन। यस सम्बन्धमा यति सम्म समस्या छ की कुन कुन ठेक्का सम्पन्न गर्न बाँकी छन् भन्ने विषय स्वयं निर्माण व्यवसायीलाई  थाहा नभएको अवस्था समेत छ। बोलपत्र क्षमता लागु गर्नुको उद्देश्य नै क्षमता भन्दा बढी काम प्रदान नगर्ने भएको र सम्पन्न गर्न बाँकी कामको विवरण सही उल्लेख नगर्दा त्यसको कार्यान्यन फितलो हुन पुग्यो। सम्पन्न गर्न बाँकी कामको विवरण तेश्रो पक्ष (जस्तै उदाहरणको लागि भारतमा चार्टर्ड एकाउन्टेन्टले प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको) ले प्रमाणित गर्ने व्यवस्था पनि नभएको, विद्युतिय खरिद प्रणाली वा खरिद सम्झौता व्यवस्थापन प्रणालीमा त्यस किसिमको तथ्यांक नभएको साथै निर्माण व्यवसायीमा पनि न्यूनतम व्यवसायिक आचरणको अभाव रहेको कारण सही विवरण पेश हुन सकेन। जसको कारण जुन उद्देश्यका साथ बोलपत्र क्षमतालाई बोलपत्रदाताको योग्यताको आधार बनाईएको हो सो पुरा हुन सकेन।

ग)    झुटा विवरण दिनेलाई कारवाही गर्न नसक्नुः सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६५ को उपनियम (४ङ) मा बोलपत्रदाताले आर्थिक तथा प्राविधिक क्षमता सम्बन्धमा स्वयं घोषणा गरी बोलपत्र सम्बन्धी कागजात तथा विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ र यसरी पेश भएको विवरण झुठ्ठा ठहरेमा निजले पेश गरेको बोलपत्रलाई मूल्यांकन प्रक्रियाबाट हटाई प्रचलित कानून बमोजिम कारवाही गरिने गरिने व्यवस्था कानूनमा गरिएको छ।   सार्वजनिक खरिद ऐन २०६३ मा बोलपत्रको आचरण सम्बन्धी व्यवस्थामा पनि तथ्य बङ्ग्याई वा झुक्याई पेश गर्ने कामलाई आचरण विपरितको काम मानिएको छ। तर बोलपत्र क्षमता गणना गरी पेश गर्दा सम्पन्न गर्न बाँकी रहेको कामको विवरण कम देखाएर बोलपत्र क्षमता पुग्ने देखाई बोलपत्र पेश गर्ने गरे पनि बोलपत्रदातालाई कारवाहीको व्यवस्था कार्यान्यन हुन सकेन।

घ)    यसको प्रभावकारी कार्यान्यन भन्दा नयाँ नयाँ मूल्यांकनका आधारहरू निर्धारण गर्नुः हाम्रोमा एउटा समस्या कानूनमा उल्लेख भएका व्यवस्थाको प्रभावकारी गर्ने भन्दा र नयाँ नयाँ योग्यता निर्धारण गर्ने रहेको छ। कानूनमा बोलपत्रदाताको योग्यताको आधार निर्धारण गर्नु मात्र पर्याप्त हुँदैन। बि.सं. २०७६ सालको सार्वजनिक खरिद नियमावली २०६४ को छैटौं संशोधनमा बोलपत्र क्षमता सम्बन्धी बोलपत्रदाताको योग्यता शुरु गरिएको तर त्यसको प्रभावकारी कार्यान्यन नहुँदै सोही प्रकृतिको एक निर्माण व्यवसायीले पाँच भन्दा बढी ठेक्का नपाउने किसिमको योग्यता शुरु गरियो। कानूनमा गरिएको व्यवस्थाको प्रभावकारी कार्यान्यन नगर्ने तर नयाँ नयाँ योग्यताहरू खोज्दै हिड्ने प्रवृत्तिले पक्कै पनि कुनै नतिजा दिँदैन।    

ङ)    गुणांक बढी भएकोः खरिद नियमावलीको छैटौं संशोधनमा बोलपत्र क्षमता सम्बन्धी योग्यतालाई शुरु गर्दा गुणांक ४ राखिएको थियो र जसलाई आठौं संशोधनमा गुणांक ७ बनाइयो भने एघारौं संशोधनमा त्यसलाई पुनः ५ मा झारियो। अन्तराष्ट्रिय अभ्यास हेर्दा गुणांक २ भन्दा बढि गरेको देखिदैन। नेपालको सन्दर्भमा शुरुमा ४ राखेर क्रमश घटाउँदै लैजानुपर्नेमा बढाउँदै लगिएको छ। कारोवार रकमको ५ गुना बढी काम प्रदान गर्ने गरी योग्यता निर्धारण गर्नु भनेको बोलपत्र क्षमता गणना नगर्नु बराबर हो। साथै यसरी बारम्बार योग्यताको आधार परिवर्तन गर्दै लैजानु उचित देखिदैन। 

च)    दातृ निकायको खरिदमा लागु नहुनेः हाम्रो पूँजीगत बजेटको ठूलो हिस्सा बैदेशिक सहायताबाट हुने गरेको छ। बैदेशिक सहायताबाट हुने खरिद अपवाद बाहेक हाम्रो सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम नभई सम्बन्धित दातृ निकायको खरिद निर्देशिका बमोजिम हुने गरेको छ। यसबाट हाम्रो कानूनमा व्यवस्था गरिएको बोलपत्र क्षमता सम्बन्धी व्यवस्था सीमित खरिदमा मात्र हुने देखिन्छ।  

६.    सुधारको क्षेत्रः

बोलपत्र क्षमता एक मूल्यांकनको आधार मात्र भएता पनि यसको प्रभाव बहुआयामिक रहेको छ। क्षमता अनुसार काम दिने प्रकृयाको प्रभावकारी कार्यान्यन भएमा सार्वजनिक निर्माणको क्षेत्रमा देखिएका मुख्य विकृतिहरूलाई पक्कै पनि कम गर्न सकिन्छ। यसको सुधारको प्रमुख क्षेत्र भनेको कानूनमा आवश्यक सुधारका र त्यसको प्रभावकारी कार्यान्यन नै हो। यसलाई प्रभावकारी रुपमा कार्यान्यन गर्न निम्न क्षेत्रमा सुधार गर्न आवश्यक देखिन्छ। 

क)   कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्यनः सुधारको पहिलो कदम भनेको कानूनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्यन नै हो।  कानूनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्यन भएमा मात्रै पनि यसले सकरात्मक नतिजा दिन थाल्छ। कानूनमा विभिन्न व्यवस्थाहरू उल्लेख गर्ने तर त्यसको प्रभावकारी कार्यन्यन नगरी नयाँ नयाँ उपायहरू खोज्ने प्रवृतिको अन्त हुनु जरुरी छ।

ख)   विद्युतिय खरिद प्रणालीमा आधारित क्षमता मूल्यांकन प्रणाली विकास गर्नेः हाल कार्यान्वयनमा रहेको क्षमता गणनाको आधार भनेको बोलपत्रदाता स्वयंले पेश गरेको विवरण नै हो। बोलपत्र क्षमता कार्यान्वयनमा देखिएको सबैभन्दा ठूलो कमजोरी भनेको सम्पन्न गर्न बाँकी ठेक्काको विवरण वास्तविक रुपमा उल्लेख नहुनु रहेको छ। यसलाई सहि तथ्यमा आधारित बनाउनको लागि सम्पन्न गर्न बाँकी कामको विवरण विद्धुतिय खरिद प्रणालीमा हुनु जरुरी छ। त्यसको लागि विद्युतिय खरिद प्रणालीमा रहेको ठेक्का सम्झौता व्यवस्थापन मोडुलको प्रभावकारी रुपमा कार्यान्यन हुनु जरुरी देखिन्छ।

ग)    प्रत्येक निर्माण व्यवसायीको बाँकी रहेको कामको विवरण खुल्ला गर्नेः बोलपत्र क्षमता गणना गर्नको लागि पेश हुने विवरण झुठ्ठा ठहरिएमा कानून बमोजिम कारवाही हुने व्यवस्था भएता पनि त्यसको कार्यान्यन सहज छैन। विद्युतिय खरिद प्रणाली मार्फत बाँकी रहेको कामको विवरण सबैको लागि खुल्ला गर्न सकेमा बोलपत्रदाताले पेश गरेको विवरण सही छ वा झुठ्ठा छ भन्ने विषय प्रतिस्पर्धी मार्फत सहजै पत्ता लाग्छ ।

घ)    दातृ निकायको श्रोतबाट हुने खरिदमा पनि कार्यान्यन गर्दै जानेः पूँजीगत खरिदको ठूलो हिस्सा दातृ निकायको श्रोतबाट हुने तर खरिद कानूनमा भएका व्यवस्थाहरू दातृ निकायको खरिदमा लागु नहुँदा सम्पूर्ण रुपमा सुधार गर्न नसकिने अवस्था रहेकोले दातृ निकायको खरिदमा पनि राष्ट्रिय खरिद प्रणाली कार्यान्यन गर्दै लैजानु पर्दछ। यसको लागि राष्ट्रिय खरिद प्रणालीलाई सिद्धान्तमा आधारित र विश्वसनिय बनाउनु जरुरी रहन्छ।

ङ)    गुणांकलाई क्रमश कम गर्दै जानेः बोलपत्र क्षमताको गुणांक हाल ५ कामय भएको र यो तुलनात्मक रुपमा धेरै हो। कारोवार भन्दा पाँच गुणा बढी काम प्रदान गरेको अवस्थामा कार्यसम्पादनमा अपेक्षित सुधारको अपेक्षा गर्न सकिदैन। त्यसैले गुणांकलाई ५ बाट क्रमश कम गर्दै लैजानु आवश्यक छ।

७.    निश्कर्षः

विकास निर्माणको मेरुदण्डको रुपमा रहेको पूँजीगत खर्चको अवस्था ज्यादै नाजुक रहेको छ। जसको एक कारण भनेको निर्माण व्यवसायीलाई निजको क्षमता भन्दा बढीको काम प्रदान गर्ने रहेको छ। बोलपत्र क्षमता (Bid Capacity) एक बोलपत्रदाताको योग्यताको आधार हो। यसमा निर्माण व्यवसायीको क्षमता अनुसार मात्र काम प्रदान गर्ने गरी व्यवस्था गरिन्छ। बोलपत्र क्षमताको प्रभावकारी कार्यान्यन गर्न सकेमा निर्माण कार्य खरिदमा देखिएका क्षमता भन्दा बढी काम लिने र समयमा सम्पन्न नगर्ने, योग्यता पुर्‍याउनको लागि मात्र संयुक्त उपक्रम बनाउने, कमिसन खाएर ठेक्का अन्य व्यक्तिलाई जिम्मा लिने जस्ता आम रुपमा रहेका विकृतिहरू अन्त गर्न सकिन्छ। बोलपत्र क्षमताको प्रभावकारी कार्यान्यनको लागि कानूनमा आवश्यक सुधारका साथै  त्यसको प्रभावकारी कार्यान्यन र बोलपत्र क्षमता गणनालाई विद्युतिय खरिद प्रणालीमा आधारित बनाउनु जरुरी छ। 

No comments:

Post a Comment